काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा प्रस्तावित १५.३४५७७३४१ प्रतिशत बोनस सेयर र ०.८०७६२२८५ प्रतिशत गरी कुल १६.१५३३९६२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र संस्थाको पूँजी संरचना परिवर्तन गरी संस्थापक सेयरको हिस्सा ७८.२५ र सर्वसाधारण तर्फको सेयर हिस्सा २१.७५ प्रतिशत रहेकोमा सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि फरक रकमलाई एफपीओ(थप सेयर निष्कासन)जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
सभामा अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिको सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमापथ छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १८ गतेसम्म कायम सेयरधनी मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।