काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहको परिसूचकमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५७२.११ अंकले बढ्दै १८६४९.९८ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह ४९०.३ अंकले बढ्दै १३५१४.८५ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.८९ प्रतिशतले बढ्दै प्रतिकित्ता ११९७ रुपैयाँ कायम भयो। त्यस्तै प्रडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ८.७३ प्रतिशत, नेपाल इन्स्योरेन्स ७.३५, प्राइम लाइफ ७.२३, लुम्बिनी जनरल इन्स्योरेन्स ६.७५, एशियन लाइफ ६.३०, नेशनल लाइफ ६.२२, शिखर इन्स्योरेन्स ६.१९, युनाइटेड इन्स्योरेन्स ५.८२, प्रिमियर इन्स्योरेन्स ५.४३, एभरेष्ट इन्स्योरेन्स ५.२३ र नेको इन्स्योरेन्सको सेयरमूल्य ४.८९ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक ४८.७४ अंकले बढ्दै अहिलेसम्मकै उच्च बिन्दु २५२४ को बिन्दुमा पुग्यो। आज बजारमा चारवटा नयाँ रेकर्ड बनेका छन्। आज सर्वाधिक सेयर कारोबार भयो। यसअघि ८३ हजार ५६७ पटक सेयर कारोबार संख्याको रेकर्डलाई तोड्दै आज ८७ हजार ६७० पटक सेयर कारोबार भएको हो ।
यसैगरी आज कुल बजार पूँजीकरणले समेत नयाँ रेकर्ड कायम गरेको छ । यसअघि ३३ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी रहेको बजार पूँजीकरण आज बढेर ३३ खर्ब ३४ अर्ब रुपैयाँको उचाईमा पुगेको हो ।
यो दिन बजारमा २०२ कमपनीका १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो। व्यापार समूह ८२.८२ अंकले बढेको आज होटल समूह २७.५२, हाइड्रोपावर ५९.२१, वित्त १६.०९, उत्पादन तथा प्रशोधन ४१.७१, अन्य ५३.९२ र लघुवित्त ३३४.२५ अंकले बढ्यो।
आज बैंकिङ समूह ३.७१, विकास बैंक ०.०१ र म्युचुअल फन्ड ०.०४ अंकले घटे।
आज सारथी नेपाल लघुवित्त, सीआईटी, आरएसडीसी लघुवित्त, गणपति माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, मन्जुश्री फाइनान्स, निर्धन उत्थान लघुवित्त र डिप्रोक्स लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढे।
यो दिन नेपाल फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले घट्यो। यस्तै न्यादी गुप्रपावरको ४.७४, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टीलरीको सेयरमूल्य २.५५ प्रतिशतले घट्यो।
आज हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ५३ करोड १७ लाख बढीको सेयर कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड ७६ लाख, शिखर इन्स्योरेन्स ३१ करोड ४६ लाख, ग्लोबल आइएमई बैंक २९ करोड ४६ लाख र छिमेक लघुवित्तको २६ करोड ९७ लाख बढीको सेयर कारोबार भयो।