काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४२१.३६अंकले घट्दै १६१२४.१५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२८.८२ अंकले ओरालो लाग्दै १३००१.३६ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४९७ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज कारोबार भएका सबै कम्पनीहरुमध्ये एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ६.०६ प्रतिशतले घट्दै प्रतिकित्ता २००० रुपैयाँमा झर्यो। एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ४.५६, प्रिमियर इन्स्योरेन्स ४.२४ र आइएमई जनरलको सेयरमूल्य ४.२० प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ६०.०२ अंकले घट्दै २८७६.५९ बिन्दुमा झर्यो। यो दिन बजारमा २२५ कम्पनीका १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँमा किनबेच भयो।
आज पनि सबै १३ वटै समूहमा रातो पोतियो। बैंकिङ समूह ३१.९६ अंकले घटेको आज व्यापार ८२.०४, होटल एण्ड टुरिजम ६४.३५, विकास बैंक १५७.९७, हाइड्रोपावर ५३.३५, वित्त ९७.०५, उत्पादन तथा प्रशोधन १८८.४३, अन्य ६३.३४ लघुवित्त ६७.६३, म्युचुअल फन्ड ०.०९ र लगानी समूह २.५३ अंकले घट्यो।
आज सानिमा लाइफको सेयरमूल्य सबैभन्दा धेरै बढ्यो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै एक्सेल डेझपमेन्ट बैंक ८.६०, रैराङ हाइड्रोपावर ८.३३, यूनिभर्सल पावर ७.६४, स्वरोजगार लघुवित्त ६.९८ र यूनाइटेड मोदि हाइड्रोको सेयरमूल्य ३.६२ प्रतिशतले बढ्यो।
आज एलआईसी नेपालको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.०६ प्रतिशतले संकुचित भयो।
यो दिन युनाइटेड मोदि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ४० करोड ५७ लाख बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावर २४ करोड ५१ लाख र स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख ढीको सेयर कारोबार भयो।