काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २७ गते काठमाण्डौ कमलादीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्स मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको कुल २० प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बैंकको गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको थियो।
सभामा बैंकको अधिकृत पूँजी १२ अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरिेनछ। यसका साथै आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड(ग) ले निर्धारण गरेको सीमाभन्दा बढी गरिएका सहयोग अन्तर्गत नेपाल सरकारको कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा उपचार कोषसहित विभिन्न संघ संस्थालाई प्रदान गरिएको कुल ४ करोड ३४ लाख १० हजार १८४.४७ रुपैयाँ अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा बैंकले उपयुक्त समयमा उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने वा प्राप्ति गर्न उपयुक्त देखेमा यस सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यसैगरी सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।