नेप्से ६% घटेपछि बजार बन्द, बीमा कम्पनीमा पहिरो

2020-12-06
नेप्से ६% घटेपछि बजार बन्द, बीमा कम्पनीमा पहिरो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर कारोबार निर्धारित समय अगावै बन्द भएको छ। नेप्से परिसूचक ६ प्रतिशतले घट्दै १९३२.११ बिन्दुमा सीमित बनेकाले नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार बन्द गरेको हो। यो दिन बजारमा १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार ०७८ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँमा किनबेच भयो। 

सबै समूहमा गिरावट आएको आज बीमा समूहहरुमा पहिरो आएको छ। आज जीवन बीमा समूह १०४०.८१ अंकले घट्दै ११५६५.८८ मा सीमित बन्यो। 

जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत पहिरो आयो। आज यो समूह ५६९.२५ अंकले घट्दै ९३४३.३५ को बिन्दुमा झर्यो। 

बैंकिङ समूह ६४.९ अंकले घटेको आज व्यापार १५९.५४, हाटेल ८१.९९, विकास बैंक ७६.२७, हाइड्रोपावर ८६.५१, वित्त १९.५३, उत्पादन तथा प्रशोधन ३६२.४१, अन्य १६४.०९, लघुवित्त २२४.१९ र म्युचुअल फन्ड ०.२ अंकले ओरालो लागे। 

आज सबैभन्दा धेरै कमाउने सूचीमा रिलायन्स फाइनान्स लिमिटडर रह्यो। यो कम्पनीको सेयरमूल्य २.३० प्रतिशतले बढ्दै प्रतिकित्ता १७८ रुपैयाँ कायम भयो। त्यस्तै सबैभन्दा धेरै गुमाउने आज १२ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घट्दै नेगेटिभ सर्किट लाग्यो। डिप्रोस लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, सानजेन जलविद्युत, नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जनरल इन्स्योरेन्स, फरवार्ड लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, सपोर्ट लघुवित्त र नेको इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घट्दै नेगेटिभ सर्किट लाग्यो। 

आज ५ वटा बीमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको गिरावट आयो। 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब १६ करोड बढी कारोबार भयो। हालसम्म कुनै पनि कम्पनीको एकै दिन यति धेरै रकमको सेयर कारोबार भएको थिएन। सर्वाधिक कारोबार रकमको रेकर्ड कायम गर्ने क्रममा कम्पनीले यसअघि आफ्नो नाममा रहेको १ अर्ब ११ करोड रुपैयाँको रकेर्ड तोडेको हो। यसैगरी नेपाल लाइफको ४४ करोड ९० लाख र नेपाल टेलिकमको  ३२ करोड १० लाख बढीको कारोबार भयो।    

 


Share this with your friends: