काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाईको सर्वाजनिक निष्कासन गत वैशाख १३ गतेदेखि भएको थियो।
प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाईमध्ये बीज पूँजी बापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि गरी कुल निष्कासन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको हो। यो योजनाको आकार रु.१ अर्ब २० करोड र यसको अवधि १० वर्षको हुनेछ। यो बन्दमुखि योजना हुनेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यस योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाइ बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाइधनीलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलका रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाइधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ। साथै, यस योजनाको इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाइहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजी बजारमा सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आफू कोष प्रवर्द्धक रही बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फन्ड’ नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी हाल दुईवटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ। एनआईबीएल म्युचुअल फन्डको पहिलो योजना ‘एनआईबीएल समृद्धि फन्ड९१’ सफलतापूर्वक सञ्चालन गर्दै यस योजनाका इकाइधनीलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पूरा भई योजना बन्द हुनेछ।