फ्रन्टलाइनमा खटिनेका लागि टेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर, एक महिनासम्म निःशुल्क भ्वाइस कल

2021-05-23
फ्रन्टलाइनमा खटिनेका लागि टेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर, एक महिनासम्म निःशुल्क भ्वाइस कल

काठमाण्डौ । नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि यो अफर ल्याइएको टेलिकमले जनाएको छ ।  

यससम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद, नेपाल नर्सिङ परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर सम्पन्न भएको छ।  यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइनेछ र स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ। पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ। 

स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरु ९नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद० ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपश्चात यो अफर उपलब्ध गराइनेछ। 

स्वास्थ्यकर्मीको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। अथवा, स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचयपत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिनेछ। यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिने नेपाल टेलिकमले जनाएको छ। 

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने नेपाल टेलिकमले जनाएको छ। 


Share this with your friends: