काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो पुस २२ गते बिहिबारका दिन काठमाण्डौ हात्तिसार स्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि भिडियो कन्फरेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांस गरी कुल ८.४२१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको प्रबन्धपत्र, नियमावली तथा सञ्चालनका नीतिगत आधारमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कम्पनीद्वारा भुक्तानी गरिएको रु.८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको २ लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालु आ।व २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका सार्थ सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।