काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदो पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानियलाई जारी गरेको सेयर खरिद गर्न दरखास्त दिई बाडँफाँडमा परेका सेयरधनीे यो आईपीओ खरिदका लागि आवेदन दिन योग्य नहुने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएकोमा पहिलो चरण अन्तर्गत कम्पनीले गत मंसिर १७ गतेबाट २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले न्युनतम न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। आईपीओको निष्कासन छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपछि बन्द हुनेछ।