काठमाण्डौ। चन्द्रागिरि हिल्स लिमिटेडले कम्पनीको आईपीओमा आवेदन दिनेलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेकोछ । कम्पनीको २०७७ साल पौष २९ गते बसेको ११ औं बर्षिक सधारण सभाले यस्तो निर्णय गरेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास र सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनैप्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने कम्पनीले जनाएको छ । यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।