लिलामीमार्फत संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

2021-02-07
लिलामीमार्फत संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक)ले संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले आउँदो फागुन ०२ गतेदेखि २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। 

बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र यसमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले के कति दरमा सेयर खरिद गर्न चाहेको हो त्यो खुलाई बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। बोलपत्र आवेदन सनराईज क्यापिटल लिमिटेड कमलपोखरीबाट प्राप्त गर्न सकिनेछ। 

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमका लागि भने कुनै पनि हद तोकिएको छैन। अर्थात लगानीकर्ताले सम्पूर्ण कित्ता(२५ लाख कित्ता)का लागि आवेदन दिन सक्नेछन्। दश लाखभन्दा बढी रकमका लागि आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फाराम उल्लेख गर्नुपर्नेछ। 

बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन। प्राप्त बोलपत्रमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई सेयर बाँडफाँड गरिनेछ। 

इच्छुक लगानीकर्ताले फागुन ०७ गतेसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ। 

 


Share this with your friends: