काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले थप ४ वटा कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरेको छ। नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, पन्चकन्या माई हाइइ«ोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमित सेयर कारोबार फकुवा गरेको हो।
नेप्सेले यसअघि आ।व २०७५/७६ को वार्षिक प्रतिवेदन पेश नगरेको भन्दै माघ २६ गतेदेखि माथि उल्लेखित कम्पनीहरु सहित ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो।
अहिले माथि उल्लेखित सूचीकृत कम्पनीहरुले नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेभसाइटमा लगानीकर्ता तथा सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वार्षिक वित्तीय विवरणहरु अपलोड गरी रोक्का राखिएको सेयर कारोबार फकुवा गर्न अनुरोध गरेकाले कम्पनीहरुको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले कम्पनीहरुलाई आगामी दिनमा समयमै वित्तीय विवरणहरु कम्पनी लगइनबाटै नेप्सेको वेभसाइटमा अपलोड गर्न सचेत गराउँदै धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम १६(४) मा भएको व्यवस्था बमोजिम उल्लेखित कम्पनीहरुको सेयर कारोबार फुकुवा गरिएको जनाएको छ।
नेप्सेले यसअघि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, पाचँथर पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमित सेयर कारोबार फकुवा गरिसकेको छ ।