काठमाण्डौ । बीमा समितिले निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
समितिले आज परिपत्र जारी गर्दै कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा स्थानिय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा बीमकहरुले दैनिक कार्य सञ्चालन गरी सर्वसाधारणलाई सेवा प्रवाह गर्नुपर्ने हुँदा यस्तो निर्देशन दिइएको जनाएको छ। समितिले सम्बन्धित सबै कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र लिई हिड्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।
यस्तै निषेधाज्ञाको अवधिभरी विद्युतीय माध्यमबाट बीमालेख जारी तथा नविकरण गर्न सक्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ। निर्जीवन बीमकको हकमा तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीयमाध्यमबाट समेत निवेदन प्राप्त भएको निषेधाज्ञाको अवधि समाप्त भएपति तत्काल सर्भेयर खटाई क्षति एकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने समितिले जनाएको छ।
बीमालेख अनलाइन विधिबाट जारी गर्न सकिने र त्यसरी जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिका साथै बीमकको अन्डरराइटीङ म्यानुयलको अधिनमा रहि गर्नुपर्ने समितिले उल्लेख गरेको छ।
यस्तै बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र प्रयाप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने, बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायतका अन्य जानकारी समेत लिने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ। समितिले बीमालेख अन्तर्गतको बीमाशुल्क विभिन्न्न बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल/ई–बैंकिङ तथा अनलाइन सेवा प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिने परिपत्रमा उल्लेख गरिएको छ।
यसैगरी बीमालेख जारी गर्दा टिकट वापतको शुल्क समेत लिने र टिकट टास्ने व्यवस्था बीमकले गर्ने साथै बीमालेखमा This is electronically generated policy, hence, bears no signature and the duly stamped original policy will be provided after the loekdown period" भन्ने वाक्यांश सहित ईमेल मार्फत बीमालेखको सफ्ट कपी गराउने र निषेधाज्ञाको अवधि समाप्त भएपछि टिकट सहितको सक्कल बीमालेख र रसिद बीमितलाई उपलब्ध गराउने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ।